काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विपक्षी दल नेपाली कांग्रेस सरकार ढाल्ने खेलमा लागेको आरोप लगाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत पुर्याउन नदिन कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पद बाँड्दै हिँडेको ओलीको आरोप छ ।
शनिबार एमालेका सांसदहरूको प्रशिक्षण कार्यक्रममा अध्यक्ष ओलीले अहिलेको सरकार असफल बनाउन बेस्सरी प्रयास भइरहेको दाबी गर्दै कांग्रेस अब आगामी पाँच वर्षसम्म सरकार ढाल्ने खेलमा लाग्ने टिप्पणी गरे। तर, आफूहरू यस्तो कुरामा नअल्झिने उनको भनाइ छ । ओलीले जसको सरकार बने पनि मिलेर काम गर्न छिमेकी राष्ट्रहरूलाई आग्रहसमेत गरे ।
सही नीति लिन, भ्रष्टाचार नगर्न, सुशासन र विकास निम्ति आवश्यक कदम दृढताका साथ चाल्न पनि उनले सरकारलाई सुझाव दिए । उनले पार्टीको नीतिभन्दा बाहिर गएर जथाभाबी नबोल्न पनि सांसदहरूलाई निर्देशन दिए ।
एमालेले संसद्मा निर्वाह गर्नुपर्ने भूमिका, कर्तव्य र अधिकारका विषयमा सांसदहरूलाई प्रशिक्षण दिएको हो । प्रशिक्षण कार्यक्रम भोलिसम्म चल्नेछ । एमालेले संसद् अधिवेशनका लागि रणनीति पनि बनाउँदै छ भने पछिल्लो राजनीतिक घटनाक्रमबारे समीक्षा पनि गर्दै छ ।