काठमाडौं । विराटनगर सुपर किंग्स राजधानीमा जारी पहिलो संस्करणको नेपाल टी-२० लिगको प्लेअफमा प्रवेश गरेको छ । शनिबार भएको पहिलो खेलमा काठमाडौं नाइट्सलाई सात विकेटले हराउँदै विराटनगर प्लेअफमा प्रवेश गरेको हो । उसले १० म्याचमा पाँचमा जित र पाँच खेलमा हार बेहोर्यो ।
आफ्नो दशौँ खेलमा काठमाडौंले दिएको १ सय ५५ रनको लक्ष्य विरानगरले १८.४ ओभरमा तीन विकेटको क्षतिमा भेट्टायो । उसका लागि कप्तान रोहितकुमार पौडेल र गौरांशु शर्माले अर्धशतक बनाए । ४२ बलको सामना गरेका रोहितले पाँच चौका र तीन छक्काको मद्दतमा ६६ रनको पारी खेले । जारी लिगमा उनको यो तेस्रो अर्धशतक हो ।
त्यस्तै, गौरांशुले ४९ बलमा चार चौकाको सहयोगमा अविजित ५१ रन बनाए । हुसेन तलत २१ र अर्जुन साउँद १० रनमा आउट भए । विवेकुमार यादवले दुई बलमा एक छक्का र एक चौका हिर्काउँदै अविजित १० रन जोडे ।काठमाडौंका लागि अविनाश बोहराले दुई विकेट लिए ।
काठमाडौंलाई एक विकेट भने रनआउटको रूपमा प्राप्त भयो । त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर ब्याटिङ रोजेको काठमाडौंले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनायो । उसका लागि सन्तोष कार्की, एलेक्स ब्लेकले ३४/३४ र सन्दीप रजालीले ३० रन बनाए ।
कप्तान ज्ञानेन्द्र मल्ल ३० र बसिर अहमद १७ रनमा अविजित रहे । विराटनगरका लागि राज नाननले ४ ओभरमा एक मेडनसहित १३ रन दिएर सर्वाधिक चार विकेट लिए । रोहित पौडेल र नन्दन यादवले एक/एक विकेट हात पारे ।
यो हारपछि पनि काठमाडौंको प्लेअफ सम्भावना जीवितै रहेको छ । आजै हुने दोस्रो खेलमा फार वेस्ट युनाइटेडविरुद्ध पोखरा एभेन्जर्स पराजित भएमा काठमाडौंले प्लेअफमा स्थान बनाउनेछ । यदि फार वेस्टले हार बेहोरेमा नेट रनरेटका आधारमा काठमाडौं र पोखरामध्ये एक टिमले प्लेअफमा स्थान बनाउनेछ ।