पोखरा । पोखरामा जारी २२ औं संस्करणको आहा–रारा पोखरा गोल्डकप फुटबलको फाइनल खेल शनिबार (आज) हुँदैछ ।
पोखरा रंगशालामा हुने फाइनलमा संकटा क्लब र अमेरिकाको भुटनीज युथ सकर क्लब (युएसए)बीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल दिउँसो १ः३० बजे सुरु हुनेछ । आज दुबै टोली जित निकाल्दै उपाधि उचाल्ने योजनामा रहेका छन् ।संकटा उपाधिमा दोस्रो पटक आफ्नो नाम लेखाउन आतुर छ भने बीवाईएससी पहिलो पटक आहा–राराको उपाधि जित्दै अमेरिका फर्कन चाहन्छ ।
संकटा समिफाइनलमा एपीएफ क्लबलाई ४–१ गोल अन्तरले हराउँदै फाइनल पुगेको हो । भुटनीजले सेमिफाइनलमा चर्च ब्वाइज युनाईटेडलाई १–० गोल अन्तरले हराउँदै संकटासँगको भेट पक्का गरेको हो । हिमश्री फुड्स प्रा.लि. को उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा जारी प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले १२ लाख र उपविजेताले ६ लाख पाउने छन् । यस्तै, विधागततर्फ उत्कृष्ट पाँचले जनही २५ हजार, सर्वाधिक गोलकर्ताले २५ हजार र म्यान अफ द म्याचले ८ हजार पाउने छन् । प्रतियोगितामा वचत रकम क्लबबाट संचालित सुर्य बहादुर के. सी. स्मृती सहारा फुटबल एकेडेमीमा खर्च गरिने छ । हाल तेश्रो व्याचको एकेडेमीमा १० जिल्लाका १३ जना आश्रित रहेका छन् ।