काठमाडौं। बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्रीमा दाबी पेश गर्न दलहरूलाई आह्वान गरेका छन्।
प्रदेश प्रमुख शर्माले आज दलहरूलाई मुख्यमन्त्रीमा दाबी पेश गर्न पुस २५ गते सोमबार अपरान्ह ४ बजेसम्मको समय दिएका छन्।
प्रदेश प्रमुखले दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्न पुस २५ गतेसम्मको समय दिएका हुन्।
कुनै पनि दलले बहुमत नपाएका कारण धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नको लागि आह्वान गरिएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता प्रकाश चापागाईंले जानकारी दिए।
११० सदस्य रहेको बागमती प्रदेश सभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको ३७ जना, एमालेका २७ जना, माओवादी केन्द्रका २१ जना, राप्रपाका १३ जना, नेकपा एकीकृत समाजवादीका ७ जना, नेमकिपाका तीन जना र हाम्रो नेपाली पार्टीका २ जना सांसद छन्।
सरकार गठनका लागि ५६ जनाको सांसदको समर्थन चाहिन्छ।