काठमाडौं। नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले अहिलेको सत्ता गठबन्धनको आयु छोटो रहेको बताएका छन्।
बुधबार केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रवक्ता महतले अहिलेको सत्ता गठबन्धनको आयु छोटो रहेको बताएका हुन्।
उनले अहिलेको गठबन्धन अवसरवादी, राजावादी, संविधानविरोधी, संघीयता विरोधी विभिन्न रूपको पार्टी मिलेर बनेकोले पदको भागवण्डाका कारण आयु छोटिने सम्भवाना रहेको बताए।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गठबन्धन छाड्नुमा कांग्रेस दोषी नरहेको प्रवक्ता महतले प्रष्ट पारे। कांग्रेसले चुनावपछि पनि गठबन्धनलाई निरन्तरता दिन कोसिस गरे पनि सफल नभएको उनले बताए।
उनले सत्ता बाहिर हुँदा कांग्रेस विचलित नभएको र अब सशक्त प्रतिपक्षको भूमिका खेल्ने तथा आउने निर्वाचनमा एक्लै पनि जित्न सक्ने गरी पार्टीलाई रूपान्तरण गरिने बताए।