काठमाडौं । राजधानीमा जारी पहिलो संस्करणको नेपाल टी-२० लिगअन्तर्ग काठमाडौं नाइट्सले फराकिलो जित निकालेको छ । आइतबार भएको पहिलो खेलमा जनकपुर रोयल्सलाई ९० रनले पराजित गर्दै काठमाडौंले फराकिलो जित निकालेको हो । काठमाडौंले दिएको १ सय ८१ रनको बलियो लक्ष्य पछ्याएको जनकपुरले १९.१ ओभरमा सबै विकेट गुमाएर ९० रन मात्र बनाउन सक्यो ।
जनकुपरका लागि कुनै पनि खेलाडीले ठूलो इनिङ्स खेल्न सकेनन् । शराफुद्दीन अशरफले ३७, सोमपाल कामीले २१ र खडक बोहराले १० रन बनाए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । काठमाडौंका लागि बलिङमा अविनाश बोहराले सर्वाधिक चार, अजमातुल्लाह उमरजाईले दुई, कमल ऐरी, अनिल खरेल र बसिर अहमदले एक/एक विकेट आफ्नो नाममा गरे ।
त्यसअघि, टियू क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गर्ने मौका पाएको काठमाडौं नाइट्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ८० रन बनायो । उसका लागि रायन बर्ल र सुनम गौतमले उत्कृष्ट अर्धशतकीय पारी खेले । ४० बलको सामना गरेका बर्लले चार चौका र तीन छक्काको मद्दतमा नटआउट ६१ र गौतमले ४७ बलमा चार चौका र चार छक्काको सहयोगमा ६२ रन बनाए ।
त्यस्तै, एलेक्स ब्लेकले २० र अजमातुल्लाह उमरजाईले १० रनको योगदान दिए । काठमाडौंका कप्तान ज्ञानेन्द्र मल्लले आज पनि सबैलाई निराश बनाए । उनी आज पनि खाता खोल्न असफल भए । जारी प्रतियोगितामा मल्ले पाँच खेल खेल्दा मात्र १४ रन बनाउन सकेका छन् । जनकपुर रोयल्सका लागि बलिङमा जितेन्द्र मुखियाले सर्वाधिक तीन, शराफुद्दीन अशरफ र ट्रेभोन ग्रिफिथले एक,एक विकेट आफ्नो नाममा गरे ।
आजको जितसँगै काठमाडौं ६ अंकका साथ तालिकाको तेस्रो स्थानमा कायमै रहेको छ । उसले जारी प्रतियोगितमा पाँच खेल खेल्दा दुईमा हार तीनमा जित निकालेको छ । त्यस्तै, आजको हारसँगै जनकपुर आठ कंकका साथ तालिकाको दोस्रो स्थानमा सिमित रह्यो । यो सिजनमा उसले छ खेल खेल्दै चारमा जित र दुईमा हार बेहोर्न पुग्यो ।