लुम्बिनी । लुम्बिनी प्रदेशसभामा निर्वाचित नयाँ सदस्यहरुको आज शपथ ग्रहण हुँदैछ । लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको देउखुरीस्थित राप्ती प्राविधिक शिक्षालय परिसरमा तयार भएको प्रदेशसभा भवनमा शपथ ग्रहण हुन लागेको हो ।
प्रदेशसभा सदस्यहरुलाई शपथग्रहण गराउन लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन आइतबार नै बुटवलबाट देउखुरी आउनेछन् ।
प्रदेशसभा नियमावली २०७९ को दफा ४ को उपदफा १ बमोजिम प्रदेशसभामा निर्वाचित भइ आउने सदस्यलाई प्रदेश प्रमुखले पद तथा गोपनियताको शपथ ग्रहण गराउने व्यवस्था अनुसार प्रदेश प्रमुखबाटै शपथ ग्रहण हुन लागेको हो । शपथ ग्रहणका लागि प्रदेशसभाका अधिकांश सदस्य देउखुरीमा आइसकेका छन् । शपथ ग्रहण कार्यक्रम र मन्त्रालय व्यवस्थापनको कामले देउखुरीका भालुवाङ, लालमटिया, मसुरिया क्षेत्रमा चहलपहल पनि बढेको छ ।
लुम्बिनी प्रदेशसभामा प्रत्यक्षबाट ५२ र समानुपातिकबाट ३५ गरी ८७ प्रदेशसभा सदस्य निर्वाचित भएका छन् । प्रदेशसभामा २९ सिटसहित एमाले पहिलो दल बनेको छ । कांग्रेसले २७ सिट जितेको छ । माओवादी केन्द्रले ९, राप्रपा ४, नागरिक उन्मुक्ती ४, जसपा ३, जनमत ३, लोसपा ३, नेकपा एकीकृत समाजवादी १ र राष्ट्रिय जनमोर्चाले १ सिट जितेका छन् ।