दाङ । लुम्बिनी प्रदेश सभाले आफ्नै संरचनामा सांसदहरुलाई शपथ ग्रहण गराउने तयारी पूरा गरेको छ। भोलि आइतबार दिउँसो १ बजे शपथ राखिएको छ।
प्रदेश प्रमुख अमिक शेरचनको स्वागत, सलामी र त्यसपछि शपथ हुने प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए।
प्रदेश प्रमुख अमिक शेरचनले पुस १८ गते सोमबार प्रदेशसभा अधिवेशन आह्वान गरेका छन्। जसको अघिल्लो दिन आइतबार शपथ ग्रहण राखिएको छ। ८७ जना प्रदेश सभा सदस्यले स्थायी राजधानी देउखुरीस्थित नवनिर्मित प्रदेश सभा भवनमा शपथ लिँदैछन्।
प्रत्यक्षतर्फ ५२ र समानुपातिक ३५ गरेर ८७ सदस्यीय प्रदेश सभा रहेको छ। एमाले २९ सदस्यसहित सबैभन्दा ठूलो दल छ।नेपाली कांग्रेस २७, नेकपा माओवादी केन्द्र ९, राप्रपा ४, नागरिक उन्मुक्ति पार्टी ४, जनमत पार्टी ३, जनता समाजवादी ३, लोकतान्त्रिक समाजवादी ३, राष्ट्रिय जनमोर्चा एक, नेकपा एकीकृत समाजवादी एक र स्वतन्त्र ३ जना छन्।