काठमाडौँ । मानवता प्रवर्द्धनका लागि महिनाव्यापी रूपमा आयोजना गरिएको सङ्गीत यात्राको अन्तिम कार्यक्रम ‘नेपथ्य लाइभ कन्सर्ट’ शनिबार आज काठमाडौँमा हुँदैछ।
काठमाडौँको रानीवनस्थित मानवसेवा आश्रममा शुक्रबार आयोजित भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उक्त कन्सर्टको तयारीबारे जानकारी गराइएको थियो।
नेपथ्य ब्याण्डका मुख्य गायक अमृत गुरुङसँगको चियापान तथा भेटघाट कार्यक्रममा आयोजक मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले अन्य नौ सहरमा भव्यताका साथ सम्पन्न भएको उक्त कार्यक्रमअन्तर्गत शनिबार भृकुटीमण्डपमा हुने अन्तिम कन्सर्टमा मुलुकका विशिष्ट व्यक्तिसहित झण्डै छ हजार दर्शकको उपस्थिति रहने जानकारी दिए। कार्यक्रमको तयारी करिब सकिएको पनि उनले सुनाए।
उनले सङ्गीतमार्फत मानवता प्रवर्द्धन गरी सडक आश्रित बेसहारा व्यक्तिहरूलाई सडकको चिसो छिँडी र सडकपेटीमा बस्नुपर्ने अवस्थाको अन्त्यका लागि समाजमा सचेतना जगाउन एक महिने सङ्गीत अभियान चलाइएको जानकारी दिए।
उक्त समारोहमा नेपथ्य व्याण्डका प्रमुख गायक अमृत गुरुङले आश्रमले जे काम गरिरहेको छ, त्यो काम धेरै मान्छेले गर्न नसक्ने बताए। उनले धन हुनेसँग भन्दा मन हुनेसँग मानवता रहेको उल्लेख गर्दै काम गर्नेहरूलाई प्रश्न उठ्ने भएकाले कसैले प्रश्न गर्दैमा नहिच्किचाइकन अभियान अघि बढाउन आग्रह गरे।
महिनाव्यापी उक्त कार्यक्रमको सुरुआत मङ्सिर १६ गते विराटनगरको हाटखोला मैदानबाट भएको थियो। मङ्सिर १९ गते वीरगञ्जको आदर्शनगर रङ्गशाला, २२ गते हेटौँडाको भुटनदेवी स्कुलचौर, २५ गते भरतपुरको क्याम्पाचौर, २९ गते नेपालगञ्जको रङ्गशाला, पुस ३ गते धनगढी रङ्गशाला, ६ गते सुर्खेतको खुल्लामञ्च, ९ गते बुटवलको कालिका मानवज्ञान मावि सेक्टर २ मैदान र १२ गते पोखराको प्रदर्शनी केन्द्रमा कार्यक्रम भएको थियो। अभियानको अन्तिम कार्यक्रमका रूपमा भोलि १६ गते शनिबार काठमाडौँको भृकुटीमण्डपमा हुन लागेको हो।