काठमाडौँ । निर्मला हत्या प्रकरणमा अनुसन्धानका लागि फेरि नयाँ समिति गठन भएको छ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनका आधारमा अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालय, नक्सालले नयाँ अनुसन्धान समिति गठन गरेको हो ।
गृहमन्त्रीको कार्यभार सम्हाल्दा नै लामिछानेले निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्ने निर्णयमा हस्ताक्षर गरेका थिए ।
गृहमन्त्रीको निर्णय कार्यान्वयनका क्रममा प्रहरी प्रधान कार्यालय, नक्सालले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) की प्रहरी नायब महानिरीक्षक (डीआईजी) दुर्गा सिंहको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिमा ब्यूरोका प्रहरी उपरीक्षक (एसपी) कमल थापा, प्रहरी निरीक्षक (इन्स्पेक्टर) धिरेन्द्र रोकाया, मनोचिकित्सकसहितका सदस्यहरु छन् ।
१० साउन २०७५ मा कञ्चनपुरको भीमदत्त नगरपालिका २, उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको शव भेटिएको थियो ।