काठमाडौँ । मानवता प्रवर्द्धनका लागि शनिबार (भोली)काठमाडौँको भृकुटीमण्डपमा ‘नेपथ्य लाइभ कन्सर्ट’ हुँदैछ । उक्त कन्सर्टको तयारी पुरा भएको आयोजक मानवसेवा आश्रमले जानकारी गराएको छ ।
काठमाडौँको रानीवनस्थित मानवसेवा आश्रममा आज आयोजित नेपथ्य व्याण्डका मुख्य गायक अमृतगुरुङसँगको चियापान तथा भेटघाट कार्यक्रममा आश्रमका अध्यक्ष रामजी अधिकारीले उक्त कुरा जानकारी गराएका हुन् ।
अध्यक्ष अधिकारीले अन्य नौ शहरमा भव्यताका साथ सम्पन्न भएको उक्त कार्यक्रम शनिबार भृकुटीमण्डपमा अन्तिम कन्सर्टमा रुपमा मुलुकका विशिष्ट व्यक्तिसहित झण्डै ६ हजार दर्शकको उपस्थिति आयोजना हुने बताए ।
उनले सङ्गीतमार्फत मानवता प्रवद्र्धन गरी सडकआश्रित बेसहारा व्यक्तिहरुलाई सडकको चिसो छिँडी र सडकपेटीहरुमा बस्नुपर्ने अबस्थाको अन्त्यका लागि समाजमा सचेतना जगाउन एक महिने सङ्गीत अभियान चलाइएको पनि जानकारी दिए ।
उक्त समारोहमा नेपथ्य व्याण्डका प्रमुख गायक अमृत गुरुङले आश्रमले जे काम गरिरहेको छ, त्यो काम धेरै मान्छेले गर्न नसक्ने बताए । उनले यो काम कसैले गरिदिए हुन्थ्यो भनेर विगतदेखि नै आफूले सोचेको र अन्ततः आश्रमले गरेको थाहा पाएर खुसी लागेको बताए ।
महिनाव्यापी उक्त कार्यक्रमको शुरुवात मङ्सिर १६ गते विराटनटरको हाटखोला मैदानबाट भएको थियो। मङ्सिर १९ गते वीरगञ्जको आदर्शनगर रङ्गशाला, २२ गते हेटौँडाको भुटनदेवी स्कुलचौर, २५ गते भरतपुरको क्याम्पाचौर, २९ गते नेपालगञ्जको रङ्गशाला, पौष ३ गते धनगढी रङ्गशाला, ६ गते सुर्खेतको खुल्लामञ्च, ९ गते बुटवलको कालिका मानवज्ञान मावि सेक्टर २ मैदान र १२ गते पोखराको प्रदर्शनी केन्द्रमा कार्यक्रम भएको थियो । अभियानको अन्तिम कार्यक्रमको रुपमा भृकुटीमण्डपमा हुन लागेको हो ।