काठमाडौं। राजधानीमा जारी पहिलो संस्करणको नेपाल टी–२० लिगअन्तर्गत पोखरा एभेन्जर्सले पहिलो जित निकालेको छ।
शुक्रबार भएको दोस्रो खेलमा फार वेस्ट युनाईटेडलाई ३ विकेटले हराउँदै पोखराले पहिलो जित निकालेको हो। युनाईटेडले दिएको १ सय ८८ रनको बलियो लक्ष्य पछ्याएको पोखराले १९.१ ओभरमा सात विकेट गुमाएर पूरा गर्यो।
उसका लागि आसिफ शेखले ४५, कुशल मल्लले ४०, सुमित महर्जनले ३८, सिद्धान्त लोहनीले २३ र अमिर हमजाले १२ रन बनाए।
युनाईटेडका लागि बलिङमा उमेर अली, करण केसी र प्रकाश जैशीले दुई÷दुई, भुवन कार्कीले एक विकेट हात पारे।
त्यसअघि, टियू क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको फार वेस्टले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ८७ रन बनायो।
उसका लागि उमेर अलीले ४२, राशिद खानले ३२, देव खनालले ३३, हसिम अन्सारी–भीम सार्कीले १७÷१७, करण केसीले नटआउट १२ र बिनोद भण्डारीले ११ रनको योगदान दिए।
पोखराका लागि जाहिर खानले ३, अमिर हमजा, तुल थापाले दुई÷दुई, आरिफ शेख र कुशल मल्लले एक÷एक विकेट लिए।
जारी प्रतियोगितामा पोखराको यो पहिलो जित हो। उसले ६ खेल खेल्दा पाँचमा हार बेहोरेको छ।
त्यस्तै, युनाईटेडले जारी सिजनमा चौथो हारको सामना गरेको छ। उसले पाँच खेल खेल्दा एकमा जित निकालेको छ।