काठमाडौं। इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डिएसपी) ठगबहादुर केसी निलम्बित भएका छन्।
प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले केसीलाई बिहीबार निलम्बन गरेको हो।
प्रहरी प्रधान कार्यालयको निर्देशनमा काठमाडौंबाट बुटबल पुगेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले केसीलाई २५ नगद र ३५ तोला सुनसहित नियन्त्रणमा लिएको थियो। त्यसपछि प्रहरी प्रधान कार्यालय नक्सालले डिएसपी केसीलाई निलम्बन गर्न भन्दै गृह मन्त्रालयमा सिफारिस गरेको थियो। निलम्बनपछि उनीमाथि थप अनुसन्धान अघि बढने बताइएको छ।
गत मंसिरमा बुटवलका एक व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिएर आफैँले राखेको सूचना पाएपछि प्रहरी प्रधान कार्यालयले उनिहरुमाथि छानबिन सुरू गरेको थियो।
यसअघि नै इलाका प्रहरी कार्यालयबाट जिल्ला प्रहरी कार्यालय कास्कीमा सरुवा भएका केसी सोमबार रमाना लिई जाने तयारीमा थिए। करिब १३ महिना अघि केसी बुटवल आएका थिए।
डिएसपी केसीले १ साउनमा तिलोत्तमा नगरपालिकाका जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतका बीचमा विवाद बढ्दै जाँदा वडाध्यक्षलाई लात्ताले हानेर पोखरीमा फ्याँकिदिएका थिए।