काठमाडौँ । नेकपा एमाले जिल्ला कमिटी मोरङको बैठकले ५ नम्बर क्षेत्रका प्रतिनिधिसभा सदस्य योगेन्द्र मण्डल ‘जोगी’लाई कारबाही गर्न सिफारिस गरेको छ ।
मोरङको ५ नम्बर क्षेत्रमा एमालेले जनता समाजवादी पार्टी (जसपा) नेपालसँग गठबन्धन गर्दा उम्मेदवार बन्नबाट वञ्चित भएपछि मण्डलले स्वतन्त्र उम्मेदवारी दिएर चुनाव जितेका छन् ।
चुनाव जितेपछि मण्डललाई कारबाही नगर्ने मनसाय एमालेले बनाएको थियो तर उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन नगरेपछि कारबाहीको सिफारिस गरेको छ । उनी प्रदेश कमिटी सदस्य हुन् ।
प्रदेश कमिटीलाई उनी संगठित सदस्य समेत नरहने गरी कारबाही गर्न सिफारिस गरिएको नेकपा एमाले मोरङले जनाएको छ । सोही क्षेत्रको प्रदेशसभा क्षेत्र (१) बाट उम्मेदवार दिएकी पूर्व प्रदेश सांसद बसन्तीदेवी यादवलाई पनि कारबाही गर्ने निर्णय गरिएको जनाइएको छ ।जिल्ला कमिटीको बैठकले प्रदेश कमिटी सदस्य रामकुमार बस्नेत र राजकुमार बस्नेतलाई पनि कारबाही गर्न सिफारिस गरेको छ । उनीहरूले एमालेका उम्मेदवारलाई हराउन खुलेरै लागेको एमालेको आरोप छ ।