काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ता सकिएको छ।
भेटवार्ताका ओली प्रचण्ड निवास खुमलटार पुगेका थिए। उनीहरुबीच करिब साढे २ घण्टा कुराकानी भएको छ।
खुमलटारबाट बाहिरिने क्रममा ओलीले समसामयिक विषयमा प्रचण्डसँग कुराकानी भएको बताए। भर्खर सरकार गठन भएको त्यसलाई अगाडि बढाउनुपर्ने विषयमा छलफल भएको जानकारी दिए।
प्रधानमन्त्री प्रचण्डको स्वकीय सचिव रमेश मल्लले सरकारका नीति कार्यक्रम के बनाउने कसरी बनाएर जाने, सरकारका काम कारवाही प्रभावकारी बनाउने, पहिलो मन्त्रीपरिषद्का निर्णयलाई कार्यान्वयन गर्ने सम्बन्धमा छलफल भएको जानकारी दिए।
उनले बिहीवार सत्ता साझेदार दलको बैठक बालुवाटारमा बस्ने जानकारी दिए।
ओली दुई वर्षपछि खुमलटार पुगेका हुन्। यसअघि संसद् विघटन गर्नु अघिल्लो दिन २०७७ पुस ४ गते साँझ ओली खुमलटार पुगेका थिए।
खुमलटारमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल पनि आउने बताइएको थियो र त्यसपछि प्रचण्ड, ओली र नेपालबीच भेटवार्ता हुने नेताहरुको दाबी थियो। तर, नेपाल त्यहाँ आएनन्।
यसअघि बुधबार बिहान नै प्रधानमन्त्री प्रचण्डले नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका थिए।