काठमाडौं। नेपाली कांग्रेसले केन्द्रीय कार्य समितिको बैठक बोलाएको छ।
कांग्रेसले पौष २२ गते शुक्रबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालयमा केन्द्रीय कार्य समितिको बैठक बोलाएको हो। बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थिति हुन भनिएको छ।
बैठकमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन-२०७९ को समीक्षा, समसामयिक राजनीति विषय र विविध विषयमा छलफल हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
कांग्रेसले सत्ता गुमेपछि निर्वाचनको समीक्षा गर्न लागेको हो। साथै, बैठकमा किन सत्ता गुग्यो, प्रतिपक्षमा बस्नुपर्ने अवस्था किन आयो भन्ने विषयमा गम्भीर समीक्षा गर्ने पक्षमा संस्थापनइतर पक्ष छ।
सत्ता गठबन्धन टिक्न नकसेपछि कांग्रेसको संस्थापन र इतर समूहमा रहेका नेताहरु केन्द्रीय कार्यसमिति बैठक डाकेर छलफल गर्नुपर्ने बताउँदै आएका थिए।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धन तोडेर नेकपा एमालेसँग सहकार्य गरेपछि सभापति शेरबहादुर देउवा घेराबन्दीमा परेका छन्।
बैठकमा संस्थापनइतर खरो रुपमा प्रस्तुत हुने जनाइएको छ।