पोखरा । पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) को अध्यक्षमा कमला गिरी निर्वाचित भएकी छन् । संस्थाको पाँचौं साधारणसभा एवम् तेस्रो अधिवेशनले गिरीलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।
संस्थाको उपाध्यक्षमा प्रभा सुवेदी, महासचिवमा अनिता खड्का भट्टराई, सचिवमा शोभा अधिकारी पौडेल, कोषाध्यक्षमा कमला गुरुङ रहेका छन् । समितिका सदस्यहरूमा ईश्वरी पौडेल, शान्ता तिमिल्सिना, सरिता बराल क्षेत्री, शारदा लम्साल, संगीता अधिकारी र पवित्रा थापा छन् । सदस्य ईश्वरी पौडेललाई समितिको कानून तथा प्रचारप्रसारको संयोजकको जिम्मेवारीसमेत प्रदान गरिएको छ ।
निर्वाचन समितिका संयोजक एवम् टेवानका सल्लाहकार टीकाराम सापकोटा, निर्वतमान अध्यक्ष रेणु थापा मगर, संस्थापक अध्यक्ष लक्की कार्की क्षेत्री लगायतले निर्वाचित टिमलाई बधाई ज्ञापन गरेका थिए ।
यसअघि कार्यक्रम शुभारम्भ गर्दै महिला शीप विकास संस्थाका प्रवन्धक रामकली खड्काले पछिल्ला समयमा महिलाहरू उद्यमशिलताका क्षेत्रमा अग्रसर बन्दै गएको बताइन् । उनले सशक्तिकरणका लागि प्रत्येक महिलाहरू आयआर्जनसँग जोडिनुपर्ने आवश्यकता औंल्याइन् ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख काशीराज भण्डारीले पोखरा नेपालको पर्यटनको राजधानी मात्र नभै दक्षिण एशियाको नै उत्कृष्ट गन्तव्य रहेको बताए ।
पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने अन्तिम तयारीमा रहेको बताउँदै उनले यसले पोखरालाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने बताए ।पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले परिषद्ले हरेक पर्यटकीय गतिविधिमा सहकार्य गर्दै अघि बढ्ने विश्वास व्यक्त गरे ।
टेवानका अध्यक्ष रेनु थापा मगरले पर्यटन क्षेत्रको प्रवर्द्धन र विकास टेवानको प्राथमिकतामा रहेको बताइन्।कार्यक्रममा नेपाल पर्यटन बोर्डका पूर्व सदस्य एवम् टेवानका सल्लाहकार टीकाराम सापकोटा, टेवानका संस्थापक अध्यक्ष लक्की कार्की, उपाध्यक्ष कमला गिरी, सचिव प्रभा सुवेदी, पोखरा उद्योग वाणिज्य संघका महासचिव बलराम आचार्य, पोखरा-६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराई, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी, रासस गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेल लगायतले पोखराको पर्यटन प्रवर्द्धन र विकास र सम्भावनाबारे चर्चा गरेका थिए ।