धनगढी । कैलालीको धनगढीबाट नक्कली नोट, बाघको हड्डी र जडिबुटी सहित ५ जना पक्राउ परेका छन् । धनगढी उप–महानगरपालिका – १३ राजपुर स्थित एसएस होटेल बसेका ३ जना र अन्य २ जनाको साथबाट प्रहरीले १ लाख ४२ हजार नक्कली नोट, ५ किलो ५३० ग्राम बाघको जस्तो देखिने अस्थिपञ्जर हड्डीहरू, बैङ्क तथा आईएमई भौचर तथा चेकहरू, जडिबुढी वनस्पतिका बोक्राहरू र फलामका टुक्राहरू बरामद गरेको छ ।
पक्राउ पर्नेमा उक्त होटेलमा कोठा गरी बसेका दार्चुलाको लेकम गाउँपालिका – ६ बस्ने ३३ वर्षीय लिलाधार मिश्र, डोटीको शिखर नगरपालिका – १० बस्ने ३० वर्षीय करन सिंह धामी र डोटीकै बडिकेदार गाउँपालिका – १ बस्ने ५० वर्षीय मोहन सिंह बोहरा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
उक्त घटनाको अनुसन्धान गर्दै जाँदा धनगढीमै कोठा भाडामा लिई बस्ने डोटीको शिखर नगरपालिका- १० बस्ने १९ वर्षीय टेकेन्द्र धामी पक्राउ परेका छन् । प्रहरीले यसअघि पुस ९ गते धनगढी उप-महानगरपालिका – ४ बसपार्क स्थित साल्ट ट्रेडिङ कर्पोरेसन अगाडी नक्कली मुद्राको कारोबार गरिरहेको अवस्थामा कैलालीको चुरे गाउँपालिका -६ बस्ने ५५ वर्षीय लाल बहादुर साउँदलाई पक्राउ गरेको थियो ।
साउँदमाथि खानतलासी गर्ने क्रममा प्रहरीले हजार दरका थान ४ नक्कली नोट फेला पारेको थियो । सो घटना पछि प्रहरीले उनीसँग जोडिएकाहरुको खोजी गर्ने क्रममा थप ४ जना पक्राउ गरेको हो ।
प्रहरीले नक्कली ४ नोट साउँदको साथबाट पक्राउ गरेको र धामी बस्ने कोठाको पलङ खटियाको सिरानी मुनी लुकाई राखेको अवस्थामा हजार दरका १३८ नोट फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वेद प्रकाश जोशीले बताएका छन् । बाघको हड्डी र जडिबुटी लगायतका सामग्री पनि प्रहरीले धामीकै कोठाबाट फेला पारेको उनले बताएका छन् ।