काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा ३ उपप्रधानसहित ७ मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्।
उनीहरुले सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएका हुन्।
एमालेका विष्णु पौडेलल उपप्रधानसहित अर्थ, माओवादीका नारायणकाजी श्रेष्ठले उपप्रधानसहित भौतिक पूर्वाधार, राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले गृह मन्त्रीको शपथ लिएका छन्।
त्यस्तै, एमालेका राजेन्द्र राई, ज्वालाकुमारी साह, दामोदर भण्डारी र जनमत पार्टीका अब्दुल खानले पनि शपथ लिएका छन्। तर, उनीहरुको मन्त्रालय भने तोकिएको छैन।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पद तथा गोपनीयताको शपथ लिइसकेका छन्। पद तथा गोपनीयताको शपथ लिनका लागि प्रचण्ड सेतो दौरा सुरुवाल लगाएर शीतल निवासमा पुगेका थिए।
यसभन्दा अघि २ पटक प्रधानमन्त्री बन्दा प्रचण्डले भादगाउँले टोपीसहित कोट–पेन्टमा शपथ ग्रहण गरेका थिए।
प्रचण्डलाई राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को (२) अनुसार आइतबार प्रधानमन्त्री पदमा नियुक्त गरेकी थिइन्।
उनलाई एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत, नागरिक उन्मुक्ति पार्टी र तीन स्वतन्त्र सांसद गरी १६९ सांसदको समर्थन गरेका छन्।