काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पद तथा गोपनीयताको शपथ लिएका छन्।
उनले सोमबार राष्ट्रपति कार्यालय शीतल निवास राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन्।
पद तथा गोपनीयताको शपथ लिनका लागि प्रचण्ड सेतो दौरा सुरुवाल लगाएर शीतल निवासमा पुगेका थिए।
यसभन्दा अघि २ पटक प्रधानमन्त्री बन्दा प्रचण्डले भादगाउँले टोपीसहित कोट–पेन्टमा शपथ ग्रहण गरेका थिए।
समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्रीहरू के.पी. शर्मा ओली, माधवकुमार नेपाल, डा. बाबुराम भट्टराईलगायतका विशिष्ट व्यक्तित्वहरू समारोहमा उपस्थित छन्। त्यस्तै, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरू, सुरक्षा निकायका प्रमुखहरू समारोहमा सहभागी छन्।
प्रचण्डलाई राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को (२) अनुसार आइतबार प्रधानमन्त्री पदमा नियुक्त गरेकी थिइन्।
उनलाई एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत, नागरिक उन्मुक्ति पार्टी र तीन स्वतन्त्र सांसद गरी १६९ सांसदको समर्थन गरेका छन्।