काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले नयाँ सत्ता गठबन्धनप्रति टिप्पणी गरेका छन्।
नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीसहित सात दलको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' प्रधानमन्त्री नियुक्त भएपछि बालेनले 'राजा फर्काउँछु भन्ने, राजा नचाहिने र राजालाई मार्छु भन्ने तीनवटै दल सरकारमा समावेश भएको' भन्दै टिप्पणी गरेका हुन्। यस्तै गठबन्धनले जनतालाई सधैं सास्ती हुने गरेको पनि उनले लेखेका छन्।
‘राजा फर्काउँछु भन्ने, राजा चाहिन्न भन्ने, र राजा मार्छु भन्ने तीनटै सरकारमा। हामी प्रजा सधैं सास्तीमा,’ उनले आइतबार सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्।
नयाँ गठबन्धन सरकारमा माओवादी केन्द्र, नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीसहित जनता समाजवादी पार्टी, जनमत पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीको सहभागिता छ। आइतबार साँझ नियुक्त भएका प्रधानमन्त्री प्रचण्डले सोमबार अपराह्न ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिनेछन्।