पोखरा । निजी वायु सेवा सञ्चालक कम्पनी सौर्य एयरलाइन्सले नवनिर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज परीक्षण उडान गरेको छ।
आगामी पुस १७ गतेदेखि विमानस्थल सञ्चालनमा आउने भएपछि सो एयरलाइन्सले सफलतापूर्वक जेट विमानबाट उडान भरेको हो। यससँगै पोखरामा पहिलोपटक सौर्यले उडान गरेको छ। सौर्यले ‘सिआरजे २००’ विमान अवतरण गराएको हो।
हाल सञ्चालनमा रहेको पोखरा विमानस्थलमा प्राविधिक कारणबाट सो विमान अवतरण गर्न नसक्ने भएकाले यसअघि पोखरामा सौर्यको उडान थिएन। सो एयरलायन्सले अङ्ग्रेजी नयाँ वर्षदेखि नियमित उडान गर्ने जनाएको छ।
विगत आठ वर्षदेखि आन्तरिक उडानमा सक्रिय सौर्यले काठमाडौँ–पोखरा–काठमाडौँ दैनिक दुई उडान गर्ने पोखरा स्टेसनका इञ्चार्ज जितेन्द्र यादवले बताए। हवाई सेवा सञ्चालनसँगै पर्यटकीय राजधानी पोखराको पर्यटनमा टेवा पुग्ने यादबले बताए।