काठमाडौं। एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा बसेको बैठकमा माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएको छ।
साथै, बैठकमा साढे २ वर्षपछि एमालेले प्रधानमन्त्री लिने सहमति भएको बताइएको छ।
१६६ सांसदको समर्थन जुटाएको नेताहरुको दाबी छ। प्रतिनिधिसभाको दोस्रो ठूलो दल एमालेसँग ७८ सांसद छ। माओवादीको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १४, जसपा १२, जनमत पार्टी ६ र नागरिक उन्मुक्ति पार्टीका ४ सांसद जोड्दा १६६ सांसद हुन्छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीका लागि दाबी पेश गर्न दलहरुलाई दिएको समयसीमा आइतबार ५ बजे सम्मका लागि छ।
प्रचण्डलाई प्रधानमन्त्री बनाउनेबारे राष्ट्रपति कार्यालयमा जानकारीसमेत पठाइसकिएको बैठकमा सहभागी नेताहरुले बताएका छन्।
अहिले बालकोटमा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव विष्णु रिमाल र नेकपा माओवादी केन्द्र उपमहासचिव वर्षमान पुनले सहमतिको ड्राफ्ट बनाइरहेका छन्।