काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानमन्त्री शेरबहादुर देउवा सत्तारुढ गठबन्धन जोगाउन सफल हुने विश्वास व्यक्त गरेका छन्।
गठबन्धन मुलुकको आवश्यकता भएकाले त्यसलाई जोगाएर अघि बढ्न आफूहरू निरन्तर प्रयासरत रहेको उनले बताए। माओवादी केन्द्रका अध्यक्ष दाहालले पहिलो पटक आफूलाई प्रधानमन्त्री बनाउन प्रस्ताव राखेपछि सहमति नहुँदा उनी बालुवाटार बैठकबाट बाहिरिएका थिए।
सञ्चारमन्त्री कार्कीले आजै गठबन्धन दलको बैठक बसी सहमति बन्ने विश्वास व्यक्त गरे।
मन्त्री कार्कीले भने, ‘गठबन्धन अहिले मुलुकको आवश्यकता हो, छलफल जारी छ। केही समय पछि फेरि बैठक बसेर सहमतिको प्रयास हुन्छ।’
गठबन्धनलाई जनताले अनुमोदन गरिसकेकाले गठबन्धन नटुट्ने उनले बताए। पार्टीको आन्तरिक छलफल थप आवश्यक रहेको र गठबन्धनलाई जोगाई राख्न सबै प्रयास हुने उनको भनाइ छ।
उनले भने, ‘प्रधानमन्त्रीजीले निरन्तर छलफल गरेर एउटा निष्कर्षमा पुग्नुहुनेछ, सहमति बन्छ भन्ने मलाई विश्वास छ। आफ्नो आफ्नो दलमा छलफल हुन्छ, सबै कुराको टुङ्गो अन्तिम घडीमा हुन्छ।’
नेपाली राजनीतिको परम्परा पनि सबै विषय अन्तिममा टुङ्गिने रहेको उनले बताए।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा बहुमतसहितको दाबी पेस गर्नका लागि आज ५ बजेसम्मको समय तय गरेकी छन्।