काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमाले अध्यक्ष ओली निवास बालकोट पुगेका छन्।
नयाँ सरकार गठनका लागि सत्ता गठबन्धनको बैठक बसिरहेका बेला प्रचण्ड बालुवाटारबाट बाहिरिएका थिए। प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकमा नेपाली कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै पद छाड्न नसक्ने अडान लिएपछि प्रचण्ड एमालेसँग सहकार्यका लागि ओली निवास बालकोट पुगेका हुन्।
प्रचण्डसँग वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देव गुरुङ पनि गएका छन्।
प्रचण्डअघि बालकोटमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, जसपा नेता अशोक राई पनि बालकोट पुगेका छन्।
अहिले एमाले, माओवादी, राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुबीच छलफल भइरहेको छ।
उनीबीच नयाँ गठबन्धन बनाउने विषयमा छलफल भइरहेको छ।