काठमाडौँ । काठमाडौंमा जारी पहिलो संस्करणको नेपाल टी–२० लिगमा आइतबार पनि दुई खेल हुँदैछन् । पहिलो खेलमा विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार्सले प्रतिस्पर्धा गर्दैछन् ।
यी दुई टोलीबीचको खेल बिहान ९ बजेदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरु हुनेछ । आन्द्रे म्याककार्थी कप्तानीको विराटनगर प्रतियोगितामा विजयी सुरुवात गर्न चाहन्छ । लुम्बिनी भने लगातार दोस्रो जितको खोजीमा छ ।
दीपेन्द्र सिंह ऐरी नेतृत्वको लुम्बिनीले पहिलो खेलमा शनिबार फार वेस्ट युनाइटेडलाई ६७ रनले हराएको थियो । आजै त्रिवि मैदानमा हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स र जनकपुर रोयल्स प्रतिस्पर्धा गर्दैछन् । दुवै टिम पहिलो जितको खोजीमा छन् ।
शरद भेषवाकर कप्तानीको पोखराले पहिलो खेलमा काठमाडौं नाइट राइडर्सविरुद्ध २६ रनले हार बेहोर्यो । ऊ उत्कृष्ट कमब्याक गर्दै जित निकाल्ने सोचमा छ । जनकपुर भने लिगमा विजयी सुरुवात गर्ने योजनामा छ ।
नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा पहिलोपटक भइरहेको नेपाल टी–२० लिगमा ६ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिताको फाइनल ११ जनवरीमा हुनेछ ।