काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा आजदेखि नेपाल टी-२० क्रिकेट लिग सुरु हुँदै छ । टीयू क्रिकेट मैदानमा हुने लिगमा ६ टिमले भाग लिएका छन् ।
च्याम्पियनले ५५ लाख रुपैयाँ पुरस्कार पाउने प्रतियोगितामा जनकपुर रोयल्स, काठमाडौं नाइट, पोखरा एभेन्जर्स, लुम्बिनी अल स्टार्स, फार वेस्ट युनाइटेड र विराटनगर सुपर किंग्स सहभागी छन् ।
उपविजेता हुनेले ३० लाख रुपैयाँ पाउने छ । यसैगरी, तेस्रोले १० लाख र चौथो हुने टिमले पनि ५ लाख रुपैयाँ प्राप्त गर्ने क्यानले जनाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ५ लाख र उदीयमान खेलाडीलाई १ लाख ८० हजार रुपैयाँसहित पुरस्कृत गरिने क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए ।
उनका अनुसार, प्लेयर अफ दी म्याचले ४० हजार रुपैयाँ पाउने छ । यसअघि शुक्रबार नै सुरु हुने प्रतियोगिता अन्तिम समयमा एक दिन पछि धकेलिएको हो ।