पोखरा। मोफसलमा चर्चित र प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २२औँ संस्करणमा १० टोलीले प्रतिस्पर्धा गर्ने भएका छन्।
सहारा क्लब पोखराको आयोजनामा यही पुस १४ देखि २३ सम्म पोखरा रङ्गशालामा हुने सो प्रतियोगिताको यसपालि पुरस्कार राशिमा समेत वृद्धि गरिएको छ। प्रतियोगिताको विजेताले रु १२ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्दा उपविजेताले रु छ लाख प्राप्त गर्ने छन्।
गत वर्षको तुलनामा विजेतालाई रु दुई लाख र उपविजेतालाई रु एक लाख पुरस्कार वृद्धि गरिएको आयोजक सहारा क्लबका महासचिव रामजीप्रसाद अधिकारीले बताए।
प्रतियोगितामा नेपालका ‘ए’ डिभिजनका क्लबहरू नेपाल एपीएफ क्लब, मनाङ मस्र्याङ्दी, त्रिभुवन आर्मी फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड फुटबल क्लब, अमेरिकाको बिवाइएससी, मच्छिन्द्र फुटबल क्लब, नेपाल प्रहरी फुटबल क्लब, सङ्कटा, धरान फुटबल क्लब र आयोजक सहारा क्लब पोखराले भाग लिनेछन्। गत वर्ष एपीएफ च्याम्पियन बन्दा उपविजेता मनाङ मस्र्याङ्दी क्लब भएको थियो।
विसं २०५८ मा क्याराभान गोल्डकपलाई गणना गर्दै २२औँ संस्करणबाट आहा ! रारा पोखरा गोल्डकप नामकरणमा प्रतियोगिता सञ्चालन हुन लागेको हो।