पोखरा । आहा रारा पोखरा गोल्डकपको २२ औं संस्करणमा १० टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् ।
पुस १२ देखि २३ गतेसम्म पोखरा रंगशालामा हुने प्रतियोगितामा १ विदेशीसहित १० क्लबले प्रतिस्पर्धा गर्ने आयोजक सहारा क्लब पोखराले जानकारी दिएको छ ।
यस संस्करणमा साविक विजेता सशस्त्र प्रहरी बलको एपीएफ, मनाङ मर्स्याङ्दी, नेपाल प्रहरी, त्रिभुवन आर्मी फुटबल क्लब, मछिन्द्र क्लब, संकटा, चर्च ब्वाइज युनाइटेड, धरान फुटबल क्लब र सहारा क्लब खेल्ने छन् । भुटानी युथ स्पोर्टस् क्लब मिनेसोटा पनि प्रतिस्पर्धा गर्न पोखरा आउने आयोजकले जनाएको छ ।
प्रतियोगितामा पहिलो हुने टोलीले १२ लाख र दोस्रो हुने टोलीले ६ लाख रुपैयाँ पुरस्कार पाउने छन् । विसं २०५८ मा आयोजित क्याराभान गोल्डकपसहित सहाराले प्रत्येक वर्ष प्रतियोगिता सञ्चालन गर्दै आएको छ ।
प्रतियोगिता सञ्चालन गरेर १ करोड ५९ लाख रुपैयाँ आम्दानी र १ करोड १३ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ । बचत भएको रकम सहाराको फुटबल एकेडेमीमा खर्च गर्ने गरिएको छ ।