काठमाडौँ । फिफा विश्वकप कतार २०२२ को उपाधि जितेपछि अर्जेन्टिनी कप्तान लिओनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास नलिने घोषणा गरेका छन्।
आइतबार राती कतारको लुसेल रंगशालामा भएको फाइनल खेलमा बिजेता भएपछि कप्तान मेस्सीले आफ्नो धारणा सार्वजनिक गरेका हुन्।
उपाधि जितेपछि उनलाई भविष्यबारे गरिएको प्रश्नमा मेस्सीले भने, ‘यो कप हेर्नुहोस् कति सुन्दर छ। यसका लागि हामीले निकै मिहिनेत गरेका छौं। म अर्जेन्टिना पुगेर त्यहाँको वातावरण हेर्न आतुर छु। म राष्ट्रिय टोलीबाट बिदा लिने छैन। म एक च्याम्पियन बनेर राष्ट्रिय टोलीबाट खेलिरहन चाहन्छु।’
मेस्सीले फिफा विश्वकप कतार २०२२ मा सर्वोत्कृष्ट खेलाडी बन्दै गोल्डेन बल पनि जिते। उनले पहिलो पटक विश्वकप जित्ने क्रममा प्रतियोगिता अवधिभर सानदार प्रदर्शन गरेका थिए। अर्जेन्टिनाको उपाधि यात्रामा ७ गोल र ३ असिस्ट गर्दै मेस्सीले गोल्डेन बल पाएका हुन्।