काठमाडौं। कतारमा भइरहेको विश्वकप फुटबलबाट आफ्नो देशको बहिर्गमनपछि नेयमारले ब्रजिलका लागि खेलिरहने कुरालाई ‘आफूले शत प्रतिशत सुनिश्चित गर्न नसक्ने’ बताएका छन्।
तर ३० वर्षका नेयमारले केही समय आफूले सोच विचार गर्ने बताए। “यसबारे मैले अझै सोच्नुपर्ने हुन्छ।”
सन् २०१८ को विश्वकप उपविजेता क्रोएशियासँग १-१ को बराबरी खेलेको उपाधिको प्रबल दाबेदार ब्रजिल पेनाल्टी सुटआउटमा पराजित बन्न पुग्यो।
प्यारिस साँ-जर्माँका अग्रपङ्क्तिका खेलाडी रहेका नेयमारले थप गरिएको समयमा क्रोएशियाविरूद्ध गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिएका थिए।
सो गोलसँगै नेयमारले ब्रजिलको राष्ट्रिय टोलीका लागि खेलेका १२४ खेलमार्फत ७७ गोल गरे।
उक्त गोलसँगै उनले आफ्नो देशका सर्वोत्कृष्ट खेलाडी पेलेले राष्ट्रिय टोलीका लागि गरेको गोल सङ्ख्यासँग बराबरी गरेका थिए। तर त्यो खुसी लामो समय टिक्न पाएन।
ब्रुनो पेटकोभिकले ११७ मिनेटमा खेललाई बराबरी ल्याए। र पेनाल्टी प्रहारमा ब्रजिल ४-२ ले पराजित हुनपुग्यो।
नेयमारले भने, “मैले राष्ट्रिय टोलीका लागि कुनै पनि ढोका बन्द गरिसकेको छैन तर म फर्किन्छु भनेर शत प्रतिशत सुनिश्चित गर्न पनि सक्दिन।”
उनले थपे, “मैले यसबारे थप सोच्नुपर्ने हुन्छ, मेरो लागि र राष्ट्रिय टोलीका लागि के सही हो भनेर मैले सोच्नुपर्ने हुन्छ।”
नेयमारले अघिल्लो विश्वकप क्वार्टरफाइनलमा बेल्जियमसँग २-१ अन्तरको पराजय भन्दा पछिल्लो हार पीडादायी रहेको बताए।
उनले शब्दमा त्यसलाई व्यक्त गर्न नसकिने भन्दै आफ्नो टोलीले अन्तिमसम्म लडेको र सहकर्मीहरू प्रति गर्व रहेको प्रतिक्रिया दिएका छन्।