काठमाडौं । आजबाट 'अन्तर्राष्ट्रिय युवा मञ्च -२०२२' बृहत सम्मेलन सुरु भएको छ। युवाहरुको सर्वांगीण विकासको उद्देश्यसहित यो कार्यक्रम आयोजना गरिएको हो। क्लब २५ नेपाल र इन्टरनेशनल युथ कमिटीले आयोजना गरिरहेको अन्तर्राष्ट्रिय युवा मञ्चको २०औँ संस्करण मंसिर २६ गतेसम्म संचालन हुनेछ।
कार्यक्रमको समापनपछि मंसिर २९ गतेसम्म वैकल्पिक पदयात्रा कार्यक्रम पनि हुने आयोजक संस्थाले जनाएको छ। वार्षिक रुपमा आयोजना हुने यो कार्यक्रममा विश्वभरका युवाहरू भेला भएर आआफ्ना विचारहरू व्यक्त गर्छन् र आफ्नो ज्ञान तथा क्षमताहरू बढाउँछन्।
कार्यक्रममा युवाहरुले एचआईभी/एड्स, लागूपदार्थको दुरुपयोग र अन्य स्वास्थ्य-जोखिम व्यवहारहरू रोक्न स्वास्थ्य प्रवर्द्धन गतिविधिहरू मार्फत् आफ्ना समुदायहरूसँग सिकेका कुराहरूको चर्चा गर्नेछन्। यस वर्षको मूल नारा 'युथ इन एक्शन: सेभिङ लाइभ्स; बिल्डिङ बेटर फ्युचर' रहेको छ। यस कार्यक्रमले युवा नेतृत्वलाई प्रवर्द्धन गर्न र विविध पृष्ठभूमिका युवाहरूका लागि समावेशी ठाउँ सिर्जना गर्नमा केन्द्रित हुने बताइएको छ।
क्लब २५ कार्यक्रम विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को आह्वानमा विश्वव्यापी रूपमा सुरु भएको अन्तर्राष्ट्रिय कार्यक्रम हो। यो कार्यक्रम रगत दिएर जीवन बचाउने मूल्यलाई बढावा दिने एक युवा अवधारणा हो।
यस क्लब मार्फत युवाहरूलाई रक्त केन्द्रमा उपस्थित हुन, स्वस्थ जीवनशैलीको बारेमा जान्न र २५ वर्षको उमेरसम्म लगभग २० जनालाई रक्तदान गर्ने लक्ष्य राखेर नियमित रूपमा रक्तदान गर्न प्रोत्साहित गरिन्छ।