काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आधिकारिक रुपमा आयोजना गर्न लागेको नेपाल टी-२० लिगको पहिलो संस्करणमा काठमाडौं नाइट्स भित्रिएको छ ।काठमाडौं गोर्खाजले नाम फिर्ता लिएपछि उसको सट्टामा क्यानले काठमाडौं नाइट्सलाई आवद्ध गरेको हो ।
नेपाल स्पोर्ट्स भेन्चरको स्वामित्वमा काठमाडौं नाइट्सले लिग खेल्ने क्यानले जनाएको छ । योसँगै लिगमा ६ फ्रेन्चाइजले प्रतिस्पर्धा गर्नेछन् ।अन्य टिममा विराटनगर सुपर किंग्स, जनकपुर रोयल्स, पोखरा एभेन्जर्स, लुम्बिनी अल स्टार र फार वेस्टर्न युनाइटेड छन् ।
क्यानले नयाँ टिम आवद्ध भए लगत्तै प्रतियोगिता डिसेम्बर २३ देखि सुरु गर्ने घोषणा पनि गरेको छ । यसअघि डिसेम्बर १२ देखि ३१ सम्म गर्ने मिति तोकिए पनि क्यानले नयाँ मिति सार्वजनिक गरेको थियो । जस अनुसार ८ पुसमा सुरु हुने प्रतियोगिताको फाइनल पुस २६ गते हुने छ । लिगमा ३० जना विदेशी खेलाडीको सहभागिता रहने छ । क्यानले छिट्टै नयाँ खेलतालिका सार्वजनिक गर्ने जनाएको छ ।