काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिगअन्तर्गत नामिबियामा जारी त्रिदेशीय शृंखलामा नेपाल बुधबार घरेलु टिमसँग ८६ रनले पराजित भएको छ ।
युनाइेड क्रिकेट क्लब मैदानमा सम्पन्न खेलमा नामिबियाले दिएको २७६ रनको लक्ष्य पछ्याएको नेपालले ४६.५ ओभरमा सबै विकेट गुमाएर १८९ रनमात्र बनाउन सक्यो ।
नेपालका कप्तान रोहित पौडेलले ४४ रन बनाए । दीपेन्द्रसिंह ऐरीले ३४, ज्ञानेन्द्र मल्ले ३०, अर्जुन साउदले २९, आरिफ शेख र ललित राजवंशीले ११ रन बनाए ।
नेपाललाई सस्तैमा समेट्न नामिबियाका जेजे स्मिथ, टंगेनी लुंगामेनी र पिकी या फ्रान्सले समान दुई विकेट लिए । यस्तै, रुबेन ट्रम्पेलमान, ब्रान्डन स्कोल्ज र मिचेल भान लिंगेनले एक–एक विकेट लिए ।
यसअघि मिचेल भान लिगेनले ११९ रन बनाएपछि टस हारेर ब्याटिङमा निम्त्याइएको नामिबियाले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर २७५ रनको योगफल खडा गरेको थियो ।नामिबियाका भान लिगेनले १११ बलमा १५ बल र एक छक्का प्रहार गरेका थिए । कप्तान गेहार्ड इरास्मसले ५३, जान निकालेल लोफ्टी इटोनले ४०, डिभान ला ककले १८ र लो–हान्ड्रे लोउरेन्सले १४ रन जोडे ।
नेपालका ललित राजवंशीले चार विकेट लिएका थिए । १० ओभर बलिङ गरेका उनले ३६ रन खर्चिए । यसबाहेक सोमपाल कामीले दुई र सागर ढकालले एक विकेट लिएका थिए ।शृंखलामा नेपालको यो तेस्रो र नामिबियाको चौँथो खेल थियो । नेपालले अब शृंखलाको अन्तिम खेलमा बिहीबार स्कटल्यान्डसँग खेल्नेछ ।
शृंखलामा नेपाल र नामिबियासँगै स्कटल्यान्ड सहभागी छन् । वर्षाले बिथोलेपछि नेपाल र नामिबियाबीचको पहिलो खेल रद्द भएको थियो । दोस्रो खेलमा नेपाल स्कटल्यान्डसँग तीन विकेटले पराजित भएको थियो ।यता नामिबिया भने पहिलो खेलमा स्कटल्यान्डसँग चार विकेटले पराजित भएको थियो । नेपालविरुद्धको दोस्रो खेल रद्द हुँदा नामिबियाले तेस्रो खेलमा स्कटल्यान्डलाई तीन विकेटले हराएको थियो ।
लिग–२ मा २३ खेलबाट १८ अंक जोडेको नेपाल तालिकाको छैटौँ स्थानमा छ । ३१ खेलबाट ४४ अंक जोडेको स्कटल्यान्ड तालिकाको शीर्ष स्थानमा छ ।यस्तै, ३० खेलबाट ३७ अंक जोडेको नामिबिया तालिकाको तेस्रो स्थानमा छ ।