काठमाडौं। आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत नामिबियाविरुद्धको खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ।
नेपाल र घरेलु टोली नामिबियाबीचको खेल १ः४५ देखि युनाइटेड क्लब क्रिकेट ग्राउण्डमा सुरु भएको छ। नेपालले प्लेइङ–११ मा एक खेलाडी परिवर्तन गरेको छ। नेपालले आज करण केसीलाई विश्राम दिएर सोमपाल कामीलाई मौका दिएको हो।
जारी सिरिजमा नेपाल पहिलो जितको खोजीमा छ। नेपालले पहिलो खेलमा वर्षाका कारण नामिबियासँग अंक बाँड्दा दोस्रो म्याच स्कटल्याण्डसँग ३ विकेटले पराजित भएको थियो।
नामिबियाले सिरिजमा दुई खेलमा एकमा जित र एक खेलमा अंक बाँडेको छ। लिग–२ मा नामिबिया ३५ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ। उसले हालसम्म २९ म्याच खेल्दा १७ मा जित, ११ मा हार र एक खेलमा अंक बाँडेको छ।
नेपालको प्लेइङ–११ः आसिफ शेख, अर्जुन साउँद (विकेटकिपर), ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, कुशल भुर्तेल, गुलशन झा, सोमपाल कामी, ललित नारायण राजवंशी र सागर ढकाल