काठमाडौं । सुदूरपश्चिम प्रदेशले यू-१९ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । त्रिवि क्रिकेट मैदानमा सोमबार भएको फाइनल खेलमा लुम्बिनी प्रदेशलाई ६ विकेटले पराजित गर्दै सुदूरपश्चिम च्याम्पियन बनेको हो ।
लुम्बिनी प्रदेशले दिएको ९३ रनको सामान्य रनको लक्ष्य सुदूरले २१ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । सुदूरको लागि गजेन्द्र बोहोराले अविजित ३९ रन बनाए । दिपक बोहोराले २५ रन बनाए भने अनुराग सिंह २२ रनमा आउट भए ।
यस्तै अर्का दिपक बोहोरा शून्य रनमा आउट भए भने मिलन बोहोराले ६ रन बनाए ।यता लुम्बिनीका लागि रमेश कुर्मी २ विकेट तथा निर्मल गुरुङ र अभिषेक गौतमले १/१ विकेट विकेट लिए ।
त्यसअघि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले सुदूरका मिलन धामीको घातक बलिङमा २९.१ ओभरमा सबै विकेट गुमाएर लुम्बिनीले ९२ रन मात्रै बनाउन सक्यो ।
लुम्बिनीको लागि आकाश त्रिपाटीले सर्वाधिक ३८ रन बनाए भने नर सार्कीले ११ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
सुदूरपश्चिमका लागि मिलन बोहोराले ९ ओभरमा १५ रन दिदै ५ विकेट लिए । हेमन्त धामी र नरेन साउदले समान २/२ विकेट लिए । डिफेन्डिङ च्याम्पियन लुम्बिनी भने समूह चरणका ६ मध्ये ५ खेलमा विजयी भएर फाईनलमा पुगेको थियो ।
लुम्बिनी र सुदूरपश्चिमबीचको गत वर्षको फाईनल खेल लुम्बिनीले १ सय १३ रनले जितेको थियो ।यस संस्करणको समूह चरणको भेटमा लुम्बिनी सुदूरपश्चिमसँग १ सय रनले पराजित भएको थियो ।
यससँगै सुदूर सबै खेल जित्दै च्याम्पियन बन्यो । सुदूरले लुम्बिनीसँग अघिल्लो संस्करणमा फाइनल खेलमा हारेको बदला समेत लिएको छ ।
गत ७ गतेबाट सुरु भएको प्रतियोगितामा प्रदेश १, मधेश प्रदेश,बागमती प्रदेश,गण्डकी प्रदेश,लुम्बिनी प्रदेश,कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशसहित ७ प्रदेशको सहभागिता रहेको थियो । उपाधिसँगै सुदूरले २ लाख नगद प्राप्त गर्यो भने उपविजेता लुम्बिनीले १ लाख नगदमा चित्त बुझाएको छ ।