काठमाडौं । यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश-१ प्रतियोगिताबाट बाहिरिएको छ ।लुम्बिनी प्रदेशले लगातार चौथो जित निकाल्ने क्रममा प्रदेश-१ लाई ६ विकेटले पराजित गरेको हो ।
टियु क्रिकेट मैदानमा भएको खेलमा प्रदेश-१ ले दिएको ७० रनको लक्ष्य लुम्बिनीले १६ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो ।
लुम्बिनीको जितमा देव खनालले १९ रन जोड्दा आकाश त्रिपाठीले १७ रन जोडे । प्रज्वल थापाले १५ रन बनाउँदा विशाल भुषाल ८ रनमा अविजित रहे । प्रदेश-१ का लागि कप्तान दिपेश कडेलले ३ तथा विपीन महतोले १ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको प्रदेश-१ ले २६.२ ओभरमा अलआउट हुदै ६९ रन बनाएको थियो । प्रदेश-१ का लागि शुभम गहतराजले २२ तथा स्टाईन रिजालले १९ रन बनाए । प्रदेश-१ का अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
प्रदेश-१ लाई कम स्कोरमा रोक्न लुम्बिनीका निर्मल गुरुङले ४.२ ओभरमा ४ रन दिएर ५ विकेट लिए ।दुर्गेश गुप्ताले २ तथा अभिशेक गौतम र तुल बहादुर थापाले समान १/१ विकेट लिए ।
आजको खेलमा जित निकालेर लुम्बिनीले ५ खेलबाट ८ अंक बनाएको छ ।समान अंक रहेको बागमती प्रदेशसँग रनरेटमा पछि परेर लुम्बिनी तेस्रो स्थानमा रहेको छ ।
समान ५ खेलबाट ४ अंक भएको प्रदेश-१ चौथो स्थानमा रहदै प्रतियोगिताबाट बाहिरिएको छ । प्रतियोगितामा प्रदेश-१, मधेश प्रदेश,बागमती प्रदेश,गण्डकी प्रदेश,लुम्बिनी प्रदेश,कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले २ लाख नगद प्राप्त गर्दा उपविजेताले १ लाख नगद पाउने छन् ।यस्तै प्लेयर अफ द सिरिज बन्ने खेलाडीले १५ हजार तथा उत्कृष्ट बलर र ब्याट्सम्यानले १०/१० हजार पाउने छन् ।