काठमाडौं। नेपाल र युएईबीच जारी एकदिवसीय क्रिकेट सिरिजको अन्तिम खेलमा केही दर्शकलाई प्रहरीले त्रिवि मैदान कीर्तिपुरबाटै पक्राउ गरेको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले खेलमा सट्टेबाजी गरेको आशङ्कामा २० जनाभन्दा बढी दर्शकलाई नियन्त्रणमा लिएको हो।
बुधबार दोस्रो खेलमा आईसीसी अम्पायर सत्याले केही दर्शक सट्टेबाजीमा संलग्न रहेको आशङ्कामा नेपाल प्रहरी र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) लाई समेत जानकारी गराएका थिए। सिआईबीले सोही जानकारीका आधारमा दर्शकलाई पक्राउ गरेको हो। पक्राउ परेका दर्शकमा भारतीय नागरिक रहेको बताइएको छ।
नेपालको कानुनले खेलमा कुनै पनि किसिमको सट्टेबाजीलाई वैध मान्दैन। दर्शक दीर्घामा बसेर सट्टेबाजीले बेटिङ गरेको सीआईबीको अनुमान छ।
सीआईबीले कीर्तिपुर प्रहरी वृत्तको सहयोगमा उनीहरुलाई पक्राउ गरेको हो। प्रहरीले सट्टेबाजीमा संलग्नहरुको मोबाइल फोनसमेत नियन्त्रणमा लिइएको जनाएको छ।