काठमाडौं। नेपालले यूएईलाई पराजित गरेको छ।
तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत आज दोस्रो खेलमा नेपालले यूएईलाई ३ विकेटले पराजित गरेको हो।
टियु मैदानमा टस जितेर ब्याटिङ गरेको यूएईले ४३.२ ओभरमा अलआउट हुँदै नेपाललाई १९२ रनको लक्ष्य दिएको थियो।
यूएईका मोहम्मद वासिमले ५० रन बनाए। त्यस्तै, अलिशान शराफुले ३५, विर्त्य अरविन्दले २५, बसिल हमीदले २४, कप्तान सिपी रिजवानलले २२ र विष्णु सुकुमरनले १५ रन बनाए ।
नेपालका ललितनारायण राजवंशी र सोमपाल कामीले ३–३ विकेट लिए। त्यस्तै, करण केसी, गुल्सन झा, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले १–१ विकेट लिए।
जवाफी मैदानमा उत्रिएको नेपालले १३ बल बाँकी रहँदै ७ विकेट गुमाएर १९३ रन बनायो।
नेपालको जितमा गुल्सन झाले ३७, कुशल भुर्तेलले ३५, आरिफ शेखले नटआउट ३३, ज्ञानेन्द्र मल्लले २६, सोमपाल कामीले नटआउट १६ र दीपेन्द्र सिंह ऐरीले १३ रन बनाए।
खराब ब्याटिङ सुरुवात गरेपनि युवा ब्याटर झा र शेखले सातौं विकेटका लागि उत्कृष्ट साझेदारी गरेपछि नेपालले युएईलाई तीन विकेटले हराएको हो। एक समय २९.१ ओभरमा १०६–६ को अवस्थामा पुगेको नेपाललाई सातौं विकेटका लागी गुलशन झा र आरिफ शेखले ६२ रनको महत्वपूर्ण साझेदारी गर्दै जितको आधार तय गरेका थिए।
यूएईका लागि रोहन मुस्तफाले ३, हजरत बिलालले २ र बसिल हमीदले १ विकेट हात पारे।
तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत पहिलो खेलमा यूएईले नेपाललाई ८४ रनले पराजित गरेको थियो। आज नेपालको जीतसँगै ३ खेलको सिरिज १–१ को बराबरी भएको छ। नेपाल र यूएईबीचको अन्तिम खेल शुक्रबार हुनेछ।