काठमाडौं। एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा नेपाल यूएईसँग ८४ रनले पराजित भएको छ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २६३ रन बनाएको थियो।
२६४ रनको विजयी लक्ष्यसहित मैदान उत्रिएको नेपालले ५० ओभरमा ९ विकेट गुमाएर १७९ रन मात्रै बनाउन सक्यो।
नेपालका लागि दीपेन्द्रसिंह ऐरी र सोमबार डेब्यू गरेका अर्जुन साउँदले अर्धशतक प्रहार गरे पनि टिमलाई जिताउन सकेनन्। ऐरीले ५४, साउँदले ५१, गुल्सन झाले अविजित १९ र आशिफ शेखले १२ बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन्।
नेपाललाई सस्तैमा समेट्ने क्रममा यूएईका १७ वर्षीय युवा स्पिनर आयन खानले ओडिआई डेब्यू खेलमै ४ विकेट लिए। त्यस्तै, बसिल हामिदले २, जाहुर खान, रोहन मुस्ताफा र अहमद राजाले १–१ विकेट लिए।
यसअघि ब्याटिङ गरेको युएईका रोहन मुस्तफाले ५३, मोहम्मद वसिमले ४४, वृत्य अरविन्दले ४०, अलिशान शराफुले २९, अहमद राजाले अविजित २७, आयन खानले २६ र बसिल हामिदले १४ रन बनाए।
नेपालका लागि गुल्सन झाले दुई तथा सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले एक/एक विकेट हात पार्दा तीन विकेट रन आउटका रूपमा प्राप्त भयो।
योसँगै तीन ओडिआई खेलको सिरिजमा युएईले १(० को अग्रता लिएको छ। नेपाल र युएईबीच दोस्रो खेल बुधबार र तेस्रो खेल शुक्रबार हुनेछ।