काठमाडौं। अष्ट्रेलियामा जारी आठौं संस्करणको आईसीसी टी–२० विश्वकपको उपाधिका लागि पाकिस्तानले इंग्ल्याण्डलाई १३८ रनको लक्ष्य दिएको छ।
मेलबर्नमा टस जितेर इंग्ल्याण्डले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३७ रन बनायो।
पाकिस्तानका लागि शन मसुदले ३८, कप्तान बाबर आजमले ३२, शादब खानले २०, मोहम्मद रिजवानले १५ रन बनाए।
पाकिस्तानलाई सस्तमै समेट्न इंग्ल्याण्डका साम करनले ३, आदिल राशिद र क्रिस जोर्डनले २–२ तथा बेन स्टोक्सले १ विकेट लिए।
हालसम्म पाकिस्तान र इंग्ल्याण्डले एक एकपटक टी–२० विश्वकपको उपाधि जितेका छन्। यसपटक पाकिस्तान र इंग्ल्याण्ड दोस्रोपटक विश्वकप जित्दै वेस्ट इण्डिजको कीर्तिमान बराबर गर्न चाहन्छन्।