काठमाडौँ । प्रेस काउन्सिल नेपालले आसन्न निर्वाचनलक्षित गरी मत सर्वेक्षण वा अनुसन्धानमूलक सामग्रीको समाचार वा समाचारमूलक सामग्री तयार पार्दा पत्रकार आचारसंहिताको विशेष ध्यान दिन अपिल गरेको छ ।
काउन्सिलले आज एक विज्ञप्ति जारी गर्दै पत्रकार आचारसंहिताबाहिर गइ सर्वेक्षण नगर्न पत्रकार तथा सञ्चार माध्यमलाई सचेत गराएको हो ।
‘पत्रकार तथा सञ्चार माध्यमले कुनै पनि मत सर्वेक्षण वा अनुसन्धानमूलक सामग्रीको समाचार वा समाचारमूलक सामग्री तयार पार्दा अनुसन्धानको विधि उल्लेख गर्नुपर्दछ यस्तो मत सर्वेक्षण गर्दा सर्वेक्षणको प्रायोजक, औचित्य र पृष्ठभूमिजस्ता विषय खुलाइ प्रस्तुत गर्नुपर्दछ भन्ने व्यवस्था रहेको छ।’ काउन्सिलका प्रवक्ता दीपक खनालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
आचारसंहिताविपरीत मतदातालाई प्रभाव पार्ने किसिमले मत सर्वेक्षण एवं विश्लेषण हुँदा निर्वाचन आचारसंहिता आकर्षित हुने भन्दै काउन्सिलले मतदान सम्पन्न भएपछि त्यस्तो सर्वेक्षण एवं विश्लेषणको नतिजा सम्प्रेषण गर्न सकिनेतर्फ ध्यानाकर्षण गराएको छ ।
