काठमाडौं। नेपालमा पहिलोपटक क्यारेम खेललाई राष्ट्रिय स्तरमा आधिकारिकता प्रदान गरिएको छ।
अल नेपाल क्यारेम एसोसिएशनले राष्ट्रिय खेलाडीहरु छनोट गर्ने क्रममा आयोजना गरेको प्रतियोगितामा अशोक तामाङ प्रथम, सिषेश ढकाल द्वितीय, करण मगर तृतीय र कबिन सुनुवारलाई सान्त्वना पुरस्कार प्रदान गरिएको छ। पुरस्कृत खेलाडीहरुलाई क्रमशः रु ५० हजार, रु २५ हजार, रु १५ हजार र रु १० हजार नगद रकम पनि प्रदान गरिएको छ।
प्रतियोगितामा भाग लिएका राष्ट्रिय स्तरका ८० प्रतिस्पर्धीमध्ये शेराज अंसारी र क्रान्ति रावललाई पनि सम्मानित गरिएको एसोसिएशनले जनाएको छ। आगामी अक्टोबरमा मलेसियामा हुन गइरहेको विश्व कप क्यारेम खेल प्रतियोगितामा नेपालको प्रतिनिधित्व हुने गरी राष्ट्रिय स्तरका छदेखि नौजनासम्म खेलाडीलाई पठाउने तयारी थालिएको एसोसिएशनका सल्लाहकार निलेश अधिकारीले जानकारी दिए।
सो अवसरमा युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले यस्ता प्रतियोगिताहरुले राष्ट्रिय पहिचानलाई अन्तर्राष्ट्रियजगत्मा विस्तार गर्न सहयोग पुग्ने बताउँदै पर्यटन प्रवद्र्धनमा खेल पर्यटनको महत्वपूर्ण योगदान रहने उल्लेख गरे।
अल नेपाल क्यारेम एसोसिएशनकी अध्यक्ष विनिता अर्यालले विश्व कपमा सहभागी हुने नेपाली खेलाडीलाई बधाई तथा शुभकामना दिइन्।