काठमाडौं। नेपाल राष्ट्रिय फुटबल टोलीका गोलरक्षक तथा कप्तान किरण कुमार लिम्बू (चेम्जोङ) माल्दिभ्सको शीर्ष डिभिजन लिग दिवेही प्रिमियर लिग–२०२२ को सर्वोत्कृष्ट गोलरक्षक घोषित भएका छन्।
माजिया स्पोर्ट्स एण्ड रिक्रियशनबाट खेलेका गोलरक्षक किरण सिजनको उत्कृष्ट गोलरक्षक चुनिएका हुन्। किरणले माल्दिभ्सको शीर्ष लिग दिवेही प्रिमियर लिगमा दोस्रोपटक उत्कृष्ट गोलरक्षकको अवार्ड जितेका हुन्। यसअघि सन् २०१८ मा टिसी स्पोर्ट्सबाट उपाधिसँगै उत्कृष्ट गोलरक्षक जितेका थिए।
किरणले प्रेमिकालाई लगाइदिए औंठी
माजियाले उपाधि जितसँगै उत्कृष्ट गोलरक्षक घोषित भएका किरणले आफ्नो प्रेमिकालाई औँठी लगाइदिएका छन्। उनले मैदानमै पूरा टिमको अगाडि प्रेमिकालाई औँठी लगाइदिएका हुन्।
किरण र उनकी प्रेमिकाको यो रोमाञ्चक दृश्यलाई पूरा टिमले ताली पिटेर समर्थन गरेको थियो। किरणले पनि आफ्नो फेसबुकमार्फत प्रेमिकालाई औँठी लगाइदिएको र नयाँ जीवनको प्रारम्भ भएको उल्लेख गरेका छन्।
‘म तिमीलाई रोज्छु र म तिमीलाई बारम्बार रोज्नेछु। बिना विराम बिना, मुटुको धड्कनमा शंका नगरी, म तिमीलाई रोजिरहनेछु। म तिमीलाई मेरो जीवनमा आएकोमा धन्यवाद दिन चाहन्छु। साथै, मेरो उतार–चढावमा साथ दिनुभएकोमा,’ किरणले लेखेका छन्, ‘कठिन र अप्ठ्यारो परिस्थितिमा तिमीले मलाई मुस्कानले साथ दिन्छौं। इमानदारीपूर्वक मलाई खुसी बनाउँदै छौँ। कति अचम्मको दिन र अविस्मरणीय समय म यो दिन मेरो अन्तिम सास सम्म भुल्न सक्दिनँ।’
उनकी प्रेमिकाको नाम कञ्चन निरौला हो। पेसाले कञ्चन एयरहोस्टेज हुन्।