काठमाडौं। नेपालले साफ यू–२० च्याम्पियनसिपमा लगातार दोस्रो जीत दर्ता गरेको छ। आज भएको खेलमा श्रीलंकालाई ३–० गोलले हराउँदै नेपालले च्याम्पियनसिपमा लगातार दोस्रो जीत दर्ता गरेको हो।
पहिलो हाफ बराबरीमा सकिएको खेलको दोस्रो हाफमा नेपालले ३ गोल गर्यो। नेपालका लागि ५८औं मिनेटका कप्तान आयुष घलान, ६५औं मिनेटमा कृतिश रत्न छुन्जु र ८४औं मिनेटमा मनग्या नकर्मीले गोल गरे।
नेपालले आफ्नो पहिलो खेलमा माल्दिभ्सलाई ४–० को भारी गोल अन्तरले हराएको थियो। आजको खेल जितेसँगै नेपालले अर्को खेलमा भारतलाई बराबरीमा रोके पनि फाइनल पुग्नेछ। नेपालले अब ३१ जुलाईमा भारतको सामना गर्नेछ। लिग चरणपछि शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछ। फाइनल ५ अगस्टमा हुनेछ।