काठमाडौँ । भारतमा सोमबारबाट सुरु भएको साफ यू-२० च्याम्पियनसिपमा नेपालले शानदार सुरुवात गरेको छ । भारतको भुवनेश्वरस्थित कालिङ्गा स्टेडियममा उद्घाटन खेलमा नेपालले माल्दिभ्सलाई ४-० ले पराजित गर्दै नेपालले च्याम्पियनसिपमा विजयी सुरुवात गरेको हो ।
नेपालको जितमा दिपेश गुरुङ, सुगम सुवाल, कृतिस रत्न छुन्जु र मनग्य नकर्मीले एक-एक गोल गरे । नेपालले पहिलो हाफमा एक तथा दोस्रो हाफमा तीन गोल गरेका थियो । ४२ औँ मिनेटमा दिपेशले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएका थिए ।
५८ औँ मिनेटमा सुगमले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाएका थिए । ६२ औँ मिनेटमा कृतिसले पेनाल्टीमार्फत गोल गर्दै नेपाललाई ३-० को अग्रता दिलाएका थिए ।
दोस्रो हाफको इन्जुरी टाइममा मनग्यले गोल गर्दै नेपालको फराकिलो जित सुनिश्चित गरे ।च्याम्पियनसिपमा नेपालले दोस्रो खेल श्रीलंकाविरुद्ध जुलाई २७, तेस्रो खेल भारतसँग जुलाई ३१ र चौथो खेल बंगलादेशसँग अगस्ट २ मा खेल्नेछ । राउण्ड रोविन लिगपछि तालिकाको शीर्ष दुई टोलीबीच अगस्ट ५ मा फाइनल खेल हुनेछ ।