काठमाडौँ । साफ यु–२० च्याम्पियनसिपको उद्घाटन खेलमा आज (सोमबार) नेपाल र माल्दिभ्स प्रतिस्पर्धा गर्दैछन् ।
च्याम्पियनसिपको केही दिनअघि भारतको भुवनेश्वर पुगेको नेपाली टोली र माल्दिभ्सबीचको खेल कालिंगा रंगशालामा नेपाली समय अनुसार दिउँसो सवा ४ बजे सुरु हुनेछ ।
प्रतियोगिताको उद्घाटन खेलमा जित निकाल्दै नेपाल सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ । नेपाली टिमका प्रशिक्षक टोलीले विगत दुई महिनाबाट तयारी गरेको थियो।
त्यस्तै, कप्तान आयुष घलानले यस प्रतियोगिताका लागि टोली तयार रहेको सुनाए । यस प्रतियोगिताका लागि कडा प्रशिक्षण गरेको र ३ अंकका लागि खेल्ने कप्तान आयुषले बताए ।
माल्दिभ्सका प्रशिक्षक अहमद शाकिरले नेपाली युवा टोली आफ्ना लागि नौलो रहेको कारण खेल्न कठिन हुने बताए। तर टोलीमा रहेका अधिकांश खेलाडी माल्दिभ्सको शीर्ष श्रेणीको लिग खेलिरहेको कारण नतिजा आफ्नो पक्षमा आउने उनको विश्वास छ ।
यसअघि १९ र १८ वर्षको उमेर समूहमा हुँदै आएको यस प्रतियोगिता यस पटक २० वर्ष मुनिको उमेर समूहमा हुन लागेको हो । यसअघि नेपालले सुरुवाती दुई संस्करण जित्दा पछिल्लो संस्करण भारतले जितेको थियो ।
प्रतियोगितामा नेपालले दोसो खेल श्रीलंकासँग जुलाई २७, भारतसँग जुलाई ३१ र बंगलादेशसँग अगस्ट २ मा खेल्नेछ । राउण्ड रोविन लिग पछि तालिकाको शीर्ष दुई टोलीबीच अगस्ट ५ मा फाइनल खेल हुनेछ ।