काठमाडौं। प्रतिनिधिसभाको उपसभामुखमा गठबन्धनबाट उम्मेदवार बनेकी नेपाली कांग्रेसकी सांसद पुष्पा भुसाल गौतम निर्वाचित भएकी छन्।
शुक्रबार भएको मतदानबाट भुसाल उपसभामुखमा निर्वाचित भएकी हुन्। उपसभामुखमा निर्वाचित भुसालले १४८ मत ल्याएर विजयी भइन्।
उनको विपक्षमा ९३ मत खस्यो। एक जना भने तटस्थ बसेका थिए। आज २४२ सांसद मतदानमा सहभागी थिए।
भुसाललाई उपसभामुखमा चयन गरियोस भन्ने प्रस्ताव पारित भएका कारण एमालेकी उम्मेदवार सांसद विद्या भट्टराईको प्रस्तावमा मतदान नै गर्नु परेन।
उपसभामुखमा निर्वाचित हुनका लागि तत्काल कायम रहेको सांसद संख्याको बहुमत आवश्यक पर्ने प्रतिनिधिसभा नियमावलीको व्यवस्था छ। अर्थात हाल २ सय ७१ सांसदको बहुमत १ सय ३६ हुन्छ।
उपसभामुख निर्वाचनमा लोसपाले गठबन्धन र राप्रपाले एमालेलाई समर्थन गर्दा नेपाल मजदुर किसान पार्टीले भने कसैलाई समर्थन गरेको थिएन।
कांग्रेस सचेतकसमेत रहेकी भुसाल यसअघि २०७४ चैतमा एमालेकी शिवमाया तुम्बाहाङ्फेसँग उपसभामुख पदमा पराजित भएकी थिइन्।
तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाङ्फेले ६ माघ २०७६ मा राजीनामा दिएपछि उक्त पद रिक्त रहेको थियो।