इङ्ग्ल्यान्डसँगको पहिलो एकदिवसीय क्रिकेटमा पाहुना टोली भारत विजयी भएको छ । दी ओभलमा गए राति भएको खेलमा भारतले इङ्ग्ल्यान्डलाई १० विकेटले हराएको हो ।
इङ्ग्ल्यान्डले दिएको एक सय ११ रनको सामान्य लक्ष्य भारतले १८ ओभर ४ बलमा विना विकेटको क्षतिमा भेट्टायो । भारतका कप्तान रोहित शर्माले अविजित ७६ रनको अर्धशतकीय पारी खेले । यस्तै शिखर धवन ३१ रनमा अविजित रहे ।
त्यसअघि पहिले ब्याटिङ गरेको इङ्ग्ल्यान्डले २५ ओभर २ बलमा अलआउट हुँदै एक सय १० रन बनाएको थियो । इङ्ग्ल्यान्डका कप्तान जोस बटलरले ३० र डेभिड विलीले २१ रन बनाए । भारतका जस्प्रित बुमराहले ६ विकेट लिए । त्यस्तै मोहमद शामीले तीन र प्रसिद्ध कृष्णले एक विकेट लिए । जितसँगै तीन खेलको एकदिवसीय शृङ्खलामा भारतले एक–शून्यको अग्रता बनाएको छ ।
दोस्रो एकदिवसीय आउँदो विहीबार र तेस्रो तथा अन्तिम एकदिवसीय खेल आइतवार हुनेछ । यसअघि भएको तीन खेलको टी–२० शृङ्खला भारतले दुई–एकले जितेको थियो ।