काठमाडौं। अष्ट्रेलिया जानका लागि काठमाडौंको एक कन्सलटेन्सीमा अध्ययनरत एक विद्यार्थीले बायोमेट्रिकका लागि जुन २७ को समय पाए।
तर, केही दिनमै उनले बायोमेट्रिकका लागि पाएको मिति भीएफएस (भिसा फ्यासिलेसन सर्भिस) ले परिवर्तन गर्दै जुलाई ५ बनाइदियो।
राति नसुति–नसुति आवेदन दिएका उनको बायोमेट्रिक समय भीएफएसले आफैं परिवर्तन गरिदियो। जसका कारण उनी फेरि पनि तोकिएको समयमा बायोमेट्रिक हुने हो कि हैन भन्ने तनावमा छन्।
साथै, अष्ट्रेलिया जानका लागि अप्लाई गरेको इनटेक नजिक आउन थालेकोले भिसामा समस्या हुने हो कि भन्ने चिन्ता पनि भीएफएसले उनलाई थपिदिएको छ।
त्यस्तै, अर्का विद्यार्थीको मंगलबारको बायोमेट्रिक समय थियो। उनको पनि मिति सारेर जुलाई ६ तारिक पुर्याइएको छ।
यी दुई त केवल प्रतिनिधि विद्यार्थी मात्रै हुन्। भीएफएसका कारण उनीहरुजस्तै धेरै विद्यार्थीहरु समस्यामा परेका छन्।
भीएफएसको नेपालमा कार्य गर्दै आएका अमित चुके र उनकी श्रीमती शेरफ चुकेका कारण धेरै विद्यार्थीहरु समस्यामा परेका हुन्। उनीहरुले आफूले चाहेको समयमा मात्रै बायोमेट्रिकका लागि आवेदन दिने सर्भर खुला गर्ने, बायोमेट्रिकका लागि समय पाएका विद्यार्थीको पनि मिति आफैं परिवर्तन गरिदिने विद्यार्थीले आरोप लगाएका छन्।
चुकेका बुढाबुढी केही शैक्षिक परामर्श संगठनको स्वार्थअनुकुल चलेर आफूहरुको समस्यालाई वेवास्था गर्दै आएको गुनासो विद्यार्थीहरुको छ।
उनीहरुले आफू निकटका विद्यार्थीको बायोमेट्रिकको मिति आफैं बुक गरिदिनेदेखि २०–२५ हजारमा अर्कोदिन नै बायोमेट्रिकको मिति उपलब्ध गराउने अवैध कार्य गर्दैै आएका छन्।
यतिसम्म कि, सर्भरमा देखिएको समस्या समाधान गर्न उनीहरु ध्यान नै दिँदैनन्। बरु, बायोमेट्रिकको मिति नलिएकै भए पनि आफू निकटका विद्यार्थीलाई बाहिरबाट बोलाएर सुरक्षा गार्डले भित्र छिर्न दिन्छन् र बायोमेट्रिकमा समावेश गराउँछन्।
तर, अन्य विद्यार्थीले बायोमेट्रिकको मिति पाउन सर्भर खुला हुने आशमा रातभरि जाग्राम बसेर पनि नपाउने अवस्था छ। पाएको मिति पनि चुकेका बुढाबुढीले पछि सारिदिने गरेका छन्।
विद्यार्थीको गुनासोपछि यस विषयमा बुफ्न खोज्दा चुकेले पनि फोन उठाएनन्।